चितवन । आगजनीबाट विचल्लीमा परेका चितवन माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलाका चेपाङ बस्तीमा एक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ । आगजनी र घर भत्काईएका १० चेपाङ परिवारलाई भोर नामक संस्थाले राहत सामग्री वितरण गरेको भोरका अध्यक्ष पचुलाल माझी मुसहरले जानकारी दिए । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले विपन्नका घर हात्ती लगाएर भत्काइदिएपछि विचल्लिमा परेकाहरुलाई भोरले सहयोग गरेको हो । जनकपुरमा रहेको अनुसन्धानमा आधारित अभियानी संस्था भोरले त्रिपाल र एक महिना पुग्ने खाधान्न सामाग्रीसहितको राहत प्याकेज प्रदान गरेको भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए ।राहत सामग्रीसहित भोरको टोली चेपाङ परिवार रहेको कुसुमखोला नजिकको बबईमा पुगेको थियो । कार्यक्रममा स्थानीय संस्था सुनौलो किरणका संस्थापक भरत चेपाङ, चेपाङ अधिकार संघर्ष समितिका संयोजक राजकुमार चेपाङ, माडी ९ का कमल चेपाङ्ग र माडी नगरपालिकाका कार्यपालिका सदस्य जगाराम चेपाङ लगायतको उपस्थिति रहेको भोरका संस्थापक राजकुमार महतोले बताए ।








