वीरगञ्ज । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको थियो ।उपचारका क्रममा बिहीबार मृत्यु भएका तीन जनाको शव पर्सा राष्ट्रिय निकुञ्जको सात किलोमिटरभित्र सेनाले व्यवस्थापन गर्न लागेको थियो । झडपमा प्रहरीतर्फ ७ जना सामान्य घाइते छन् । स्थानीय घाइते भएरनभएको जानकारी आउन सकेको छैन । त्यहाँ शव लैजानु अगाडि मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो । जंगलमा शव गाड्न लैजान अवरोध गरेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ । झडपपछि सेनाले तीनैजनाको शव स्वास्थ्य मापदण्ड अनुसार व्यवस्थापन गरेको छ ।








