चितवन – चितवनमा कोरोना भाइरस संक्रमण बिस्तारै उकालो लाग्दै गएको छ । पछिल्लो समय दिनहुँ नयाँ संक्रमित देखिन थालेका छन् । चितवनमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनीहरु मध्ये भरतपुर महानगरपालिकाका मात्रै २७ जना रहेका छन् । दुई जना कालिका नगरपालिका तथा एक राप्तीका हुन् ।
सक्रिय संक्रमित मध्ये २८ जना होम आइसोलेसनमा छन् । अन्य दुई जना भने भरतपुर अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा चार जना नयाँ संक्रमित फेला परेका छन् । २२ जनामा पिसिआर परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
देशभर ३५५ जना थपिए देशभर पछिल्लो २४ घण्टामा थप तीन सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार ८८ पिसिआर परिक्षणका क्रममा दुई सय १६ जना र एक हजार ९८ एन्टीजेन परिक्षणका क्रममा एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार ९७१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज थप ८६ जना कोरोनामुक्त भएका छन् ।








