तुलसीपुर । दाङमा करेन्ट लागेर आज ९सोमबार० दुई दाजुभाइको अज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो । मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिए ‘धराप’ को विद्युतमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो । थापिएको विद्युतको धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ । छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका तिनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।








