चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा नेपालमै पहिलो पटक पूर्ण स्वचालित हेमास्टेसिस एनलाईजर जडान गरिएको छ । मुटु, कलेजो, मृर्गाैला लगायतका रोगहरुमा रगतको परीक्षण गर्न महत्वपूर्ण मानिएको एनलाईजर जडान गरिएको हो । प्रयोगशालाका निर्देशक डा.संजय राय यादवका अनुसार रगत जम्ने वा नजम्ने (सर्कुलेसन डिसअर्डर), मुटु रोगी, कलेजो रोगीहरुको विशेष प्रकारको परीक्षणका लागि यो उपकरण उपयोगी हुनेछ ।
यस अघि मानिसको सहायताले (मेनुअल्ली) थोरै मात्रा र लामो समय लागेर परीक्षण गर्नु पर्ने अवस्था रहेकोमा अब पूर्ण स्वचालित (फूल अटोमेटिक) मेसिनले छोटो समयमा धेरै रगतको नमूना परीक्षण गर्न सकिने उहाँले बताउनुभयो । यस अघि मुटु र कलेजो रोगीको विशेष नमूना परीक्षणका लागि भारत पठाउनु पर्ने अवस्था रहेको बताउँदै डा. यादवले अब सबै खाले परीक्षण यही हुने बताउनुभयो । रक्तश्राव हुने रोगहरु, वंशाणुगत (जेनिटेक) रोगहरु भएका बिरामी, रगत दिनुपर्ने बिरामी, लगायतका रगतको नमूना परीक्षणमा पनि यो उपकरणको महत्वपूर्ण भूमिका हुने गर्दछ ।
एकै पटक २० वटा नमूना परीक्षण गर्न मिल्ने मिल्ने यो उपकरणले १५ देखि २० मिनेटमै नतिजा (रिपोर्ट) दिने उहाँको भनाई थियो । एनलाईजर जापानि होरिबा कम्पनीको हो । प्रयोगशालाले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गरिसकेको छ । आईएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालमा स्वास्थ्य उपचारको क्षेत्रमा पछिल्लो समय विकास भएका अत्याधुनिक उपकरणहरु थप गरिंदै आएको बताउँदै सबै खालको रोगको उपचार र परीक्षणका लागि अब अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।








