चितवन। देशका विभिन्न स्थानमा एसिड आक्रमणको घटना बढेको भन्दै चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको छ । वान स्टेप फाउण्डेशनको आयोजनामा भरतपुरको चौविसकोठीमा एसिड आक्रमण रोक्न शनिबार प्रर्दशन भएको थियो । एसिड आक्रमणको घटना रोक्न नेपालमा कडा कानुन आवश्यक रहेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् । कडा सजाय हुने कानुन निर्माण भए एसिड आक्रमण घटनामा कमी आउने फाउण्डेशनकी अध्यक्ष ममता पाण्डेले बताइन् । कार्यक्रममा सहभागीहरुले एसिड प्रहार गर्ने अपराधीविरुद्ध सबै नागरिक एक हौं , एसिड आक्रमण बन्द गरौं , एसिड प्रहार समस्याको समाधान होइन , मानवतामाथी एसिड नफालौं लगायतको नारा सहितको प्लेकार्ड देखाएर प्रर्दशन गरेका थिए । प्रर्दशनमा करिब ३५ जनाको सहभागिता रहेको थियो । एसिड आक्रमणको घटना न्यूनिकरण गर्न सबै नागरिक एकजुट भएर लाग्नुपर्नेमा फाउन्डेसनका उपाध्यक्ष निर्मम शाह शंकरले जोड दिए ।








