चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिप र शिक्षा आजको आबश्यकता रहेको बताउनुभएको छ । नेपाल चेपाङ् संघले आज यहाँ आयोजना गरेको राष्ट्रिय महान पर्ब छोनाम (न्वाङ्गी) कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शिप र शिक्षाको बिकासले मात्रै समुदायको बिकास हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “समाज परिवर्तनका लागि शिप र शिक्षा आबश्यक छ ।” शिप र शिक्षा बिनाको व्यक्ति समाजका लागि भारी हुने भन्दै उहाँले चेपाङ् समुदायको बिकासका लागि पनि यो अपरिहार्य कुरा रहेको बताउनुभयो । शिपले मानिसलाई कर्मयोगी वनाउने र शिक्षाले चेतना वृद्धि गर्ने भएकाले यसलाई एकै साथ लैजान बागमती प्रदेश सरकार लागि परेको उहाँको भनाई थियो ।
यसका लागि सरकारले चालु आर्थिक वर्षमा प्रदेश भित्रका १० हजार युवालाई शिपमुलक तालिमको व्यवस्था र सामुदायीक बिद्यालय र क्याम्पसमा अध्ययनरत छोरीहरुका लागि निःशुल्क शिक्षाको व्यवस्था गरेको उहाँले बताउनुभयो । सिमान्तकृत तथा अल्पसंख्यक जातिहरुको संरक्षणका लागि एकिकृत बस्ति बिकास कार्यक्रम अघि सारीएको उहाँले जानकारी दिनुभयो ।
चेपाङ् समुदायको बिकासका लागि चेपाङ् बाहुल्यता रहेको क्षेत्रका लागि बागमती प्रदेश सरकारले चेपाङ् बिशेष क्षेत्र घोषणा गरेको बताउनुभयो । चेपाङ् बिशेष क्षेत्रका कार्यक्रमहरु सुरु हुने क्रममा रहेको उहाँको भनाई थियो । समाजमा रहेको बिभेद अन्त्य गर्दै रोजगारीको सृजना गर्न प्रदेश सरकारले वडा समाजबादी कार्यक्रम मार्फत काम अघि वढाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारले गर्छ भनेर हेरेर बस्ने समय गए । सरकारले बाटो देखाउने हो । आँफै हिड्नु पर्छ ।” कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्बाधार राज्यमन्त्री सन्त वहादुर चेपाङ्ले अहिलेको उपलव्धिको रक्षा गर्दै अघि वढ्ने समय आएको बताउनुभयो । चेपाङ्को संघर्षबाट प्रदेश सरकारले न्वाङ्गी पर्बका लागि बिदा दिन थालेको उहाँको भनाई थियो ।
केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ्को अध्यक्षतामा भएको कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्, नेपाल चेपाङ् संघका पूर्ब केन्द्रिय अध्यक्ष एबं संबिधान सभा सदस्य गोबिन्द चेपाङ्, संघकी बरिष्ठ उपाध्यक्ष सुनिमायाँ चेपाङ्, पूर्ब केन्द्रिय महासचिब अमित कुमार चेपाङ् लगाएतले बोल्नु भएको थियो ।








