पर्वत । पर्वतको कुश्मामा रहेको जिल्ला अस्पतालमा डायलसिस सेवा शुरु गरिएको छ । आज एक कार्यक्रमकाबीच डाइलासिस सेवा शुरु गरिएको हो । जिल्ला अस्पतालमा यो सेवा शुरु गरिएसँगै मिर्गौलाका बिरामीले अब निःशुल्क डायलसिस सेवा पाउने भएका छन् । यो अस्पतालमा ४ वटा डायलसिस मेसिन जडान गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ३० लाख रुपैयाँबाट डाइलासिम मेसिन खरिद गरिएको थियो । पर्वत जिल्ला अस्पतालको डायलसिस सेन्टरमा २४ सै घन्टा सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनकाअनुसार २ सिफ्ट चलाउँदा दैनिक १२ जना बिरामीलाई सेवा दिन सक्ने क्षमता सेन्टरसँग हुनेछ । अस्पतालमा सुरु भएको मिर्गौलाको निःशुल्क डायलासिस सेवाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्न ४ कुराहरूमा विशेष जोड दिइएको र त्यसबाटै प्रदेशको स्वास्थ्य अवस्था बलियो बन्ने बताए । स्वास्थ्य संस्थामा जनशक्तिको उपलब्धता, भौतिक संरचना निर्माण, स्रोत र उपकरण तथा चिकित्सकहरूमा दिइने ऊर्जाले नै प्रदेशमा स्वास्थ्यको अवस्था बलियो पार्ने गरी प्रदेशले काम गरिरहेको उनको भनाई छ ।








