चितवन । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहारण यहाँका सुरेश ठाकुरले देखाउनु भएको छ । परिश्रम गर्न सके स्वदेशमानै काम गर्न सकिन्छ भन्ने उदाहारण ठाकुरले देखाउनु भएको हो ।
कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनु भएको छ । त्यसो त उहाँका एक छोराले चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरेर काममा लाग्नु भएको छ । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हाँसील गर्नुभएको छ । यो सबै ठाकुरको मिहिनेतको कमाई हो ।
कलैया जिल्लाको देउताल गाउँपालिका वडा नम्बर ४ पिप्राडीमा जन्मनु भएका ठाकुरले स्थानीय बिद्यालयबाट कक्षा १० उत्तीर्ण पछि यो पेसामा लाग्नुभएको हो । स्थानीय स्तरमा काम सिकेर ६ महिना उहाँले दिल्ली गएर तालिम लिनुभयो । बि. सं. २०५० सालमा भरतपुरको तत्कालिन जिल्ला बिकास समितिको जग्गामा रहेको सटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो ।
त्यतिवेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो “म मेरो फुपाजु राम कुमार ठाकुरसंग कपाल काट्ने कामका लागि चितवन आएँ ।” २६ वर्ष त्यही ठाउँमा कपाल काटे पछि अहिले केही पर उहाँ सर्नु भएको छ । यहाँ आएर सुरुमानै आफैले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यतीवेला दाह्री र कपाल काटेको रु १० लिने गरिन्थ्यो ।
अहिले यो मुल्य बढेर रु १७० पुगेको छ । त्यतीबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ । अहिले यो संख्या ३०÷३५ छ । राम्रो कमाई सुरु भए संगै उहाँले बिरगञ्जकी सुनायना देवी ठाकुर संग बिहे गर्नुभयो । आम्दानी हुँदै गए पछि बसाई चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले ससुराली गाउँमा उहाँले घडेरी किनि सक्नु भएको थियो ।
केटा केटी हुर्कदैं गए पछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका वडा नम्बर १२ मा घडेरी किन्नुभयो । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । घरमा १२ कोठा रहेका छन् । ४५ वर्षिय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नु भएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखा परिक्षण सुरु गर्नुभएको छ ।
उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनु भएका ठाकुर मिहिनेत ग¥यो भने यही कमाई हुने बताउनुहुन्छ । जीवनको झण्डै तीन दशक यो पेसामा संघर्षरत ठाकुरले भन्नुभयो “मिहिनेत गरेर काम गर्नुस् बिदेशीनु पर्दैन ।” कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मिहिनेतको कमाईले स्थायी बसोबास भरतपुर बनेको हो ।
अहिले पनि उहाँको आफ्नै कमाईले परिवार धानेको छ । छोरी बाहेकको पढाई खर्च घटे पछि र छोराहरुको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उहाँ बताउनुहुन्छ ।








