चितवन: नेपालमा सर्वाधिक बिक्री हुने दुई पाङ्ग्रे सवारीमध्ये बजाज कम्पनीले १२५ सीसीमा पल्सर मोटरसाइकल उपलब्ध गराएको छ । नारायणगढको नारायणी मोटर्सले १२५ सीसीको पल्सर मोटरसाइकल आज देखि बिक्री शुभारम्भ गरेको छ । नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेसहित नारायणी मोटर्सका पुराना ग्राहक तोयानाथ पन्त र अच्युत अधिकारीले मोटरसाइकलको बिक्री शुभारम्भ गरेका हुन् । फोर स्ट्रक इन्जिनमा उपलब्ध पल्सरले ५५ किलोमिटर माइलेज दिने नारायणी मोटर्सका सिनियर सेल्स अफिसर हरेराम खरेलले बताए । उनका अनुसार ” मोटरसाइकलमा १२ लिटरको पेट्रोल ट्याङ्की रहेको छ , १४० किलो तौल भएको मोटरसाइकलको अगाडि डिस्क ब्रेक जडान रहेको छ ” । मोटरसाइकलमा एन्टी स्कीड ब्रेक सिस्टम भएकाले पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेक आफै लाग्ने उनको भनाइ छ ।
त्यस्तै मोटरसाइकल बिक्री शुभारम्भका क्रममा नारायणी मोटर्सका रिजनल सेल्स अफिसर दिनेश साहले मोटरसाइकलको इन्जिन क्षमता ११.८ हर्शपावर रहेको साथै मोटरसाइकलले राम्रो पिकअप दिने बताए । मोटरसाइकलमा पाँच गियर क्षमता रहेकाले पाँचौ गियरमा आरमदायी यात्रा गर्न सकिने उनको भनाइ छ । कम्पनीले मोटरसाइकलको खरिदमा विभिन्न उपहार योजना समेत ल्याएको छ । नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन मार्फत १० हजार रुपैयाँ जित्न सकिने बताए ।
त्यस्तै उनले बजाज कम्पनीका जुन सुकै मोटरसाइकलको खरिदमा हरेक दिन लक्की ड्र मार्फत सामसुङ कम्पनीको एलसीडी टीभी, वासिङ मेसिन, मोबाइललगायतका उपहारहरु प्रदान गरिने बताए । दुई लाख २४ हजार नौ सय रुपैयाँ मूल्य रहेको १२५ सीसीको पल्सर मोटरसाइकलमा फाइनान्सको सुविधा समेत उपलब्ध रहेको नारायणी मोटर्सका फाइनान्स अफिसर रिचेन पण्डितले बताए । पण्डितकाअनुसार ४० प्रतिशत डाउनपेमेन्ट गरेको अवस्थामा फाइनान्समा मोटरसाइकल उपलब्ध गराइनेछ ।








