धादिङ । धादिङमा कारोना भाइरस ९कोभिड–१९० को जोखिम बढेको भन्दै राजमार्गसहित सदरमुकाममा निषेधाज्ञा लागू गरिएको छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा गाडी चलेका छैनन्। जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले गए रातिदेखि लागू हुने गरी एक हप्तासम्मका लागि पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो । निषेधाज्ञाको पहिलो दिन धादिङबेसी बजार बिहानैदेखि सुनसान छ । औषधि पसल, फलफुल पसल र खाद्यान्न पसलबाहेक अन्य सम्पूर्ण पसलहरु पूर्णरुपमा बन्द भएका छन् । जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाइरसको संक्रमण देखिएपछि बजार क्षेत्रमा जोखिम बढेको हो । कालुपाण्डे राजमार्गको फुर्केखोलादेखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा भाद्र ३ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । अहिले अत्यावश्यकबाहेकका सबै यातायात पूर्णरुपमा बन्द भएको छ । त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रमा होटल, बैंक तथा वित्तीय संस्था र जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट धादिङको नीलकण्ठ नगरपालिकामा एक जनाको मृत्यु भएको र सङक्रमण स्थानीयमा फैलिएको भन्दै धादिङमा निषेधाज्ञा जारी गरीएको हो।








