चितवन । क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आज (आइतबार)देखि नर्स तथा सहयोगीमा कोरोना संक्रमण देखिन थालेपछि अस्पतालले सेवा केही समयका लागि रोक्ने भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले संक्रमणको जोखिम देखिएरै आकस्मिक बाहेकका सेवा बन्द गरिएको बताउनुभयो ।
“शनिबारसम्म १० जनामा संक्रमण देखियो”, उहाँले भन्नुभयो, “जोखिम नबढोस् भनेर केही दिन सेवा बन्द गरेका हौँ ।” उहाँका अनुसार ७ जना नर्स र ३ सहयोगी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भैसकेको छ । आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म आकस्मिक बाहेकका सेवा बन्द गरिएको उल्लेख छ ।
गौतमद्वारा जारी विज्ञप्तिमा अस्पतालले प्रदान गर्दै आएका अत्यावश्यक सेवाहरु सम्बन्धित ओपिडीबाट प्रदान हुने उल्लेख छ । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र संक्रमितसँग सम्पर्कमा आएकाहरुको कोभिड १९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको उल्लेख छ । शनिबार पहिचान भएका ५ जना संक्रमितलाई होम क्वारेन्टाइन वा अस्पतालमै बनाइएको आइसोलेसनमा राखिने कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताउनुभयो ।








