चितवन । रत्नननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले शुक्रवार बालबालिकाहरुका लागि स्वास्थ्य चेकजाँच तथा आधारभूत औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ । पिनाकल फर्माको प्रा.लि भरतपुरका प्रोप्राईटर आर.के दुवाडीको समन्वयमा निको बाल अस्पताल भरतपुरका वालरोग विशेषज्ञ डा. किशोर उप्रेती र डा. निशान नेपालले विद्यालयका कक्षा नर्सरी र केजिमा अध्ययनरत ११० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नु भयो ।
बालबालिकाहरुका विगतका स्वास्थ्य समस्या र विगतमा परीक्षण गरेका कागजात सहित अभिभावकहरुको उपस्थितिमा बालबालिकाहरुको उचाई, तौल नाप गरेर बडिमास इन्डेक्स ( विएमआई) को परिक्षण सहित बालबालिकाहरुलाई वालरोग विशेषज्ञहरुले शुष्म चेकजाँच गरी आवश्यक औषधि र चिसो मौसम संगै उत्पन्न हुन सक्ने रोग र स्वास्थ्य सजगताका वारेमा सल्लाह सुझाव समेत दिनु भएको थियो ।
उक्त कार्यक्रममा पिनाकल फर्माको प्रा.लि भरतपुरका प्रोप्राईटर आर.के दुवाडीले विशेषज्ञ चिकित्सकबाट सिफारिस गरेका औषधिहरु वितरण गर्दै सेवन गर्ने तरिका र स्वास्थ्य सजगताका सम्वन्धमा जानकारी गराउनु भएको थियो भने विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले अव उप्रान्त सवै कक्षाका विद्यार्थीहरुको आवधिक रुपमा विशेषज्ञ चिकित्सकको सहयोगमा स्वास्थ्य चेकजाँच गर्नुका साथै विद्यालयमा बालबालिकाहरुको स्वास्थ्य अवस्थाको अभिलेख राख्ने कार्यको थालनी गर्ने वताउनु भयो ।
स्वास्थ्य परीक्षण कार्यक्रमको अन्तमा विद्यालयका तर्फबाट विशेषज्ञ चिकित्सकहरु तथा समन्वयकर्तालाई सम्मान समेत गरिएको थियो ।









