रुपन्देही । लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतृत्वका लागि नेपाली कांग्रेसबाट चारजना आकांक्षी देखिएका छन् । यीमध्ये तीनजना संस्थापन र १ इतर समूहबाट छन् । संस्थापन समूहबाट तीनैजना बलियो उम्मेदार रहेकाले शीर्ष नेताहरूको रोजाइमा को पर्छन् भन्ने चासो बढेको छ । तीनै नेताहरूले आफू निकटका नेताहरूलाई फकाइरहेका छन् ।
तर, संसदीय दलको नेताका लागि गृहमन्त्री बालकृष्ण खाण तथा सहमहामन्त्री किशोरसिंह राठौरले गर्ने समर्थनमा निर्भर हुन्छ । रज्जाक रुपन्देहीका भएपनि निर्वाचनको समयमा गृहमन्त्री खाणले सहयोग नपाएकाले उनीनिकट नेताहरुले गुनासो गरिरहेका छन् । त्यसैले चौधरी बलियो बन्न सक्छन् । प्रदेश उपसभापति राजु खनाल पनि दाबेदार छन् ।
चौधरी र खनालको विवाद बढ्दा रज्जाककै सम्भावना बढी छ । आरजुको गैरसरकारी संस्थामा काम गरेका चौधरीले केन्द्रबाटै ‘च्यानल’ मिलाएको उनीनिकट नेताहरूको बताउँछन् । पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही १ (२) बाट, चौधरी दाङ ३ (१) र राजु खनाल दाङ २ (१) बाट निर्वाचित भएका छन् । इतर समूहबाट अहिलेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना पनि संसदीय दलमा दाबी गरिरहेका छन् । पाल्पा २ को १ बाट निर्वाचत रानालाई शेखर कोइराला समूहले अघि सारेको छ ।
प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिकमा १० सांसदसहित २७ जना सांसद रहेकोमा इतर समूहबाट १० जनामात्रै रहेकाले नेतृत्व पाउने सम्भावना कम रहेको कांग्रेसका एक नेता बताउँछन् । प्रदेशमा कांग्रेसको नेतृत्व दाबी गरेका पार्टी प्रदेश सभापति अमरसिंह पुन तथा यसअघि संसदीय दलको नेता रहेका वीरेन्द्र कनौडिया चुनावमा पराजित भए ।
८७ सदस्यीय प्रदेशसभामा यहाँ सत्तागठबन्धन तथा एमाले गठबन्धन कसैको बहुमत पुग्दैन । सत्तागठबन्धनमा ४१ सांसद छन् भने एमाले गठबन्धनमा ३६ सांसद छन् । नागरिक उन्मुक्तिका ४, स्वतन्त्र सांसद ३ र जनमतका ३ सांसद यहाँ सत्ता समीकरणको निर्णायक शक्ति बनेका छन् ।








