काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो ।
सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिनुभयो । उहाँले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काउनुभयो । नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिनुभयो । त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्र्नुभएका उहाँले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराउनुभयो । सो ओभरमा उहाँले विपक्षी टोलीलाई मात्र एक रन दिनुभयो । यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिनुभयो । खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्नुभएका उहाँले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गर्नुभयो । उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिनुभयो ।








