चितवन । भरतपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष राजु पौडेलले पदभार ग्रहण गर्नुभएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच आज उहाँले पदभार ग्रहण गर्नुभएको हो । स्वागत एवं पदभारग्रहण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष पौडेल “एक हप्ताभित्रमा भरतपुर अस्पतालको स्वेतपत्र जारी गर्ने” पहिलो निर्णय गरेको बताउनुभयो ।
अस्पतालका के के साधनस्रोत छन्, ती साधनस्रोतलाई के केलाई प्रयोग गर्न सकिन्छ, र अस्पतालको सुधारका लागि कोकोसँग के के अनुरोध गर्न सकिन्छ भन्ने बारेमा स्वेतपत्रमा उल्लेख हुने उहाँको भनाई छ । राष्ट्रिय अन्तर्राष्ट्रिय दाताहरुसँग र राज्यका तीनै तहसँगबाट साधनस्रोत जुटाएर अस्पतालको विकास र गुणस्तर सुधारमा लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस अघि नै भरतपुर अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्ने बताउनु भएको स्मरण गराउँदै अध्यक्ष पौडेलले मेडिकल कलेज बनाउने कार्यमा आफ्नो विशेष ध्यान जाने बताउनुभयो । उहाँले ट्रमा सेन्टर विस्तार, मातृशिशु केयर, प्रसुतीको छुट्टै भवन (वर्थिङ सेन्टर), प्यालिएटिभ केयर, जलेका घाईतेहरुको (बर्नकेयर युनिट), फोहोर व्यवस्थापन जस्ता विषयमा विशेष काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालको विकासमा महानगरले सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको संख्यात्मकभन्दा पनि गुणात्मक विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नवनियुक्त अध्यक्ष पौडेललाई मेडिकल कलेज बनाउने काममा विशेष रुपमा लाग्न आग्रह गर्नुभयो ।
अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले स्वागत गर्नुभएको कार्यक्रम रामहरि ढकालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पोल्ट्री व्यवसायी गुणचन्द्र बिष्ट, नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष जीनारायण बहादुर क्षेत्री, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, अस्पतालका चिकित्सक, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति थियो ।








