कास्की । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा प्रदेशका पोखरामा ११ र तनहुँका ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
निर्देशक डा शर्माका अनुसार पोखरामा मंगलवार ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ४ का २७ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण भएको छ । उनीहरु दुुवै जना सुरक्षाकर्मी हुन् । वडा नम्बर ५ का ९ वर्षीय बालिकासहित ३२ वर्षीय महिला, वडा नम्बर ७ का २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर १० का ४० वर्षीय महिला रहेकी छिन् । उनी दुवईबाट फर्किएकी हुन् ।
त्यस्तै वडा नम्बर १४ का २५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. १३ का दुई जना पुरुष, वडा नं. २८ का एक पुरुष र वडा नं. २९ का एक महिलामा समेत कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।
कोरोना पुष्टि भएका वडा नं. १३ का दुई जना भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका हुन् । अन्य दुई जना कन्ट्रयाक ट्रेसिङको आधारमा पहिचान भएका हुन् । उनीहरुमध्ये एक जना पत्रकार रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९०८ पुगेको छ । संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको उनले बताए ।गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण साता जनाको मृत्यु भएको छ । प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६१२ जना घर फर्किएका छन् ।








