काठमाडौं । मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् । यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका छन् । बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
बारा १ (२) बाट निर्वाचित यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी केन्द्रका ७, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी १ र स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धप्रसाद सिंह यादव गरी कुल ६३ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । मधेश प्रदेशमा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पथ्र्यो । यसैगरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् ।
बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसैगरी कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यो सँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री भएका छन् । माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसैगरी सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
एमाले संसदीय दलको नेता समेत रहेको रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश १ मा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । उनलाई आइतबार नै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । यसैगरी बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् ।
उनी सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । जम्कट्टेलले सोमबार शपथसहित तीन सदस्यीय मन्त्रिमण्डल समेत गठन गरेका छन् । यसैगरी गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी सोमबार मुख्यमन्त्री बनेका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुखयमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई प्रदेशका ३३ सांसदको समर्थन छ ।








