भरतपुर । सिम्जुङ–चितवन सेवा समाज, चितवनले चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत धनबहादुर गुरूङलाई आर्थिक सहयोग गरेको छ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका वडा नं.४, सिम्जुङ, गोगनपानीका ४५ वर्षीय धनबहादुर गुरूङ (दुर्गे)लाई २२ हजार २८० रूपैयाँ सहयोग गरेको हो ।
मंगलबार समाजका अध्यक्ष भीमप्रसाद दवाडी, उपाध्यक्ष छवि दवाडी, कोषाध्यक्ष टकमाया गुरूङलगायतको टोलीले बिरामी र उनका आफन्तलाई भेटेर उक्त रकम बुझाएको हो । केही दिनअघि मात्रै दर्ता भएको समाजले संस्थाको उद्देश्यअनुसार काम गर्ने प्रयास गरेको अध्यक्ष दवाडीले जानकारी दिए । ‘आर्थिक अवस्था ज्यादै कमजोर भएकोले उपचार नपाएरै मर्न बाध्य हुने व्यक्तिहरूका लागि हामीले संस्था खोलेका हौँ,’ उनले भने, ‘त्यसैले संस्थाको लक्ष्यअनुसार काम गर्ने प्रयास गरेका हौँ ।’
समाजले आफ्ना सदस्यहरूमार्फत रकम संकलन गरेर बिरामीको उपचारमा सहयोग गरेको हो । आन्द्रा र मुटुको समस्या (क्यान्सर) का कारण विगत एक महिनादेखि भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत धनबहादुर हाल भरतपुर–११, भोजाडस्थित आफन्तको घरमा बस्दै आएका छन् । अस्पताल धाइरहनुपर्ने भएकोले आफन्तकोमा सहारा लिएर बस्न बाध्य भएको बिरामीकी श्रीमती सनमाया गुरूङले बताइन् । आर्थिक अभावका कारण चन्दा संकलन गरेरै भए पनि श्रीमान्को जीवन बचाइदिन उनले सबैसँग अपिल गरेकी छन् ।
एक महिनाको अवधिमा करिब चार लाख रूपैयाँ खर्च भइसकेको उनले बताइन् । बाँकी रकम जोहो गरेर श्रीमान्को उपचार गर्ने क्षमता नभएकोले आफन्तलाई गुहार्न परेको उनको भनाइ छ ।








