भरतपुर । चितवन भूपू सैनिक कल्याणकारी क्लब तथा सदस्य संरक्षण कोषले २०८० को भित्तेपात्रो सार्वजनिक गर्नुका साथै शुभकामना आदानप्रदान गरेको छ । जय जन्मभूमि पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष डा लक्ष्मीकान्त पाण्डेको उपस्थितिमा मंगलबार भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान गरिएको हो ।
क्लबले आफ्नो संस्थाको उपस्थिति बलियो बनाउन पनि भित्तेपात्रो प्रकाशन गरिएको क्लबका अध्यक्ष प्रेमबहादुर खड्काले बताए । खड्का चितवन–२ मा हुन लागेको उपनिर्वाचनमा उमेदवारसमेत हुन् । जय जन्मभूमि पार्टीको चितवन जिल्ला अध्यक्षसमेत रहेका उनले सोही मौकामा भूपू सैनिक नै उमेदवार बनेको हुँदा आफूलाई जिताइदिन आग्रह गरे । कार्यक्रममा उपस्थित जय जन्मभूमि पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष डा पाण्डेले पनि भूपू सैनिक उमेदवार बनेको ठाउँमा दायाँबायाँ नहेर्न आग्रह गरे ।
भूपू सैनिकको क्षमता र दक्षतालाई हेरेर पनि मतदान गरिदिन उनले आग्रह गरे । पार्टीका सचिव दुर्गाबहादुर थापाले देशको व्यवस्था र अवस्था परिवर्तन गर्न दलको विकल्प नहुने हुँदा भूपू सैनिकहरू पनि दलमा आवद्ध हुन बाध्य भएको भन्दै आफ्ना उमेदवारलाई जिताइदिन आग्रह गरे । आयोजक संस्था भूपू सैनिक कल्याणकारी क्लबले चुनावलक्षित कार्यक्रम गरी भित्तेपात्रो सार्वजनिक गरेको हो ।








