चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ९ को आयोजनामा सञ्चालित ५ दिने नेतृत्व विकास तथा उदघोषण तालिम सम्पन्न गरिएको छ । वडा कार्यालयले टोल विकास संस्थाका प्रतिनिधि लक्षित नेतृत्व विकास तथा उदघोषण तालिम दुई स्थानमा एकैपटक सुरुवात गरेको थियो । समापन सत्रमा वडा अध्यक्ष यमलाल कँडेलले तालिमले वडाबासीको क्षमता विकासका साथै बोल्ने कलाको विकासमा तालिम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तालिममा सिकेका कुरालाई व्यवहारत कार्यान्वयनमा ल्याउन आग्रह गर्दै आगामी दिनमा अन्य कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । वडा सदस्य एवं कार्यक्रम संयोजक कोपिला दुराले ५ दिनकै अवधिमा सहभागीको प्रस्तुतीले तालिम फलदायी भएको बताउनुभयो । तालिमका सहभागी कमला दुरा, सञ्चिता आचार्य र श्रीप्रसाद ढुङ्गानाले तालिम प्रभावकारी रहेको बताउँदै आगामी दिनमा अन्य खालका कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
वडाका मेलमिलापकर्ता संयोजक लिलाबल्लव भुसाल र विशाल टोल विकास संस्थाका अध्यक्ष बुद्धिसागर न्यौपानेले चुप लागेर बस्ने हो भने पछि परिने जनाउँदै अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । विशाल टोल विकास संस्थाको सभाहलमा भएको तालिममा मुख्य प्रशिक्षक चित्रवन सन्देश पत्रिका ,चित्रवन न्यूजडटकमका सम्पादक सुमन गैरे, प्रशिक्षक विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्री , नयाँ पत्रिकाका संवाददाता विवेक पोख्रेल, अधिवक्ता खगराज कंडेलले प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै काँडाघारी टोल विकास संस्थाको सभाहलमा भएको तालिममा पत्रकार रमेश पौडेल, सिन्धु ढकालले प्रशिक्षण दिनुभएको थियो । तालिममा वडाका हरेक टोलबाट तीन जनाका दरले महिला एवं पुरुष प्रतिनिधिको उपस्थिति रहेको थियो ।








