चितवन । उपचार नभएपछि भाँच्चिएको हातमा जटिल संक्रमण भएकी सात वर्षीया चेपाङ बालिकाको उचारको व्यवस्था रत्ननगरका मेयर प्रलाद सापकोटाले मिलाएका छन् । लामो समय उपचार नपाउँदा बालिकाको पाखुराको भित्री भागमा घाउ भएर संक्रमण भएको थियो । मेयर सापकोटाले विपन्न कोषबाट आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ७ भालुमाराकी ७ वर्षीया निशा चेपाङलाई अस्पताल लगिएको हो । अहिले उनी रत्ननगरमा बस्दै आएकी थिइन् । “देशका विपन्न जनताप्रति राज्यको अझै धेरै दायित्व र जिम्मेवारी छ,” सापकोटाले भने, “सबै जनताले सर्वसुलभ उपचार पाउनु पर्छ । त्यसका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।”
निशाको चितवन मेडिकल कलेजमा मंगलबार एमआरई गरिएको छ । अस्पतालले नै उनको हातको शल्यक्रिया गर्ने जनाएको छ । यसअघि मेयर सापकोटाले आर्थिक विपन्नताको कारण उपचार नपाएका र.न.पा. १३ गौतमबुद्ध टोलमा बस्ने आठ वर्षीय प्रदीप विकको पनि उपचार व्यवस्था मिलाएका थिए ।
एक महिना भन्दा बढी समयदेखि हात भाँचिएर उपचार गर्न नसकेका प्रदीपको उपचारमा लागेको खर्च पनि मेयरले नै बेहोरेका थिए । विकको एघार दिनअघि मात्र अप्रेसन भएको थियो ।








