चितवन । जिल्लामा दर्ता भएका अनुचित लेदनदेनका निवेदन माथि स्थानीय प्रशासनले छलफल सुरु गरेको छ । गत जेठ १४ गतेसम्म परेको उजुरी माथि छलफलको प्रक्रिया सुरु गरिएको हो । दुवै पक्षलाई राखेर छलफल थालिएको हो ।
जिल्लामा ९२ जनाले अनुचित लेनदेन (मिटर व्याज) पीडितहरुको उजुरी दर्ता गरेका छन् । उजुरी दर्तासँगै अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगमा ती निवेदन पठाईएको थियो । पठाईएका उजुरीमाथि प्रशासन कार्यालयले छलफल गराउन आयोगले निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यलय चितवनले पीडित र पिडक पक्षलाई बोलाई छलफल सुरु गरेको कार्यालयका नायब सुव्वा विश्वास श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म २३ वटा उजुरीमाथि छलफल भएको छ । दुईवटाको मिलापत्र भईसकेको र अन्य उजुरीको छलफलका क्रममा रहेका छन् ।
कार्यालयमा परेका उजुरी मध्ये ६० वटा उजुरी पीडितको र ३२ वटा उजुरी पिडकको रहेका छन् । अनुचित लेनदेन सम्बन्धि जाँचबुझ आयोग २०७९ ले गत जेठ १४ गतेसम्म उजुरी दर्ता गराउन आव्हान गरेको थियो । सो आवेदनका क्रममा ती उजुरी परेका हुन् ।
यस अघि गृह मन्त्रालयले वि. सं. २०७९ साल साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटर व्याजी बिरुद्ध उजुरी आव्हान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । जस मध्ये एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ वटा अवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको थियो ।








