चितवन । केन्द्रीय बस टर्मिनल भरतपुरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज यात्रु सहायता कक्ष स्थापना गरिएको हो । चालकलाई खादा लगाएर सुरक्षित यात्राको कामना गर्दै सहायता कक्षको उद्घाटन गरिएको थियो ।
चाडपर्वमा यात्रा गर्ने यात्रुको सहज र सुरक्षित यात्राका लागि सहायता कक्ष स्थापना स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमिक्त कार्यालय प्रमुख टंकप्रसाद सिवाकोटीले जानकारी दिनुभयो । यात्रु सहायता कक्षले यात्रुका गुनासा सुन्ने तथा यात्रालाई सहज बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो ।
यात्राका क्रममा कुनै पनि गुनासा तथा समस्या भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो । जिल्लाको मुग्लिन, पोखरा बसपार्क, पुलचोकबाट पनि यात्रु सहायता कक्षले सेवा दिने समेत उहाँले जानकारी दिनुभयो ।
राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय रामनगरका प्रमुख एसपी खडकबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका निमिक्त प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डित, यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख, यातायात व्यववसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदी, स्थानीय जनप्रतिनिधिहरुलगायत उपस्थित थिए ।









