चितवन । चितवनमा गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना, दुर्घटनामा परी मृत्यु हुने तथा घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा जिल्लामा सवारी दुर्घटनाको सङ्ख्या करिब ७३ प्रतिशतले घटेको हो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा चितवनमा ३३ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए। तर, चालु आर्थिक वर्षको दसैँ अवधिमा नौ वटा सवारी दुर्घटना मात्र भएका छन्। ती दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ। त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यामा ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, सवारी जाँचमा कडाइ, प्रभावकारी सुरक्षा व्यवस्था तथा ट्राफिक सचेतना कार्यक्रमका कारण दुर्घटना र मानवीय क्षति घटाउन सहयोग पुगेको बताउनुभयो।
उहाँका अनुसार जिल्लाका प्रमुख स्थानमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत निगरानी गर्ने, ट्राफिक प्रहरीले बडी वोर्न क्यामेरा प्रयोग गर्ने तथा मुख्य सडकखण्डमा सवारी जाँचलाई कडाइ गर्ने कार्यले दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको छ।
त्यसैगरी, चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउनु र चालक तथा सर्वसाधारणलाई निरन्तर ट्राफिक नियमबारे सचेत गराउनु पनि दुर्घटना घट्नुका प्रमुख कारण रहेको उहाँले बताउनुभयो।
ट्राफिक नियमको पालना, नियमित सवारी जाँच र प्रविधिमैत्री निगरानीलाई निरन्तरता दिन सके आगामी दिनमा समेत सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति थप न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ।








