चितवन । भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित विपद्को त्रासका कारण यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल घटेको छ । गत वर्ष जेनजी आन्दोलनका कारण पर्यटकको आगमन प्रभावित भएको थियो भने अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा उल्लेख्य भीड हुने गरेको थियो ।
चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अपेक्षाकृत कम आन्तरिक पर्यटक आएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार उहाँको सौराहास्थित होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सातवटा मात्रै बुक भएका थिए । उहाँले सौराहा मात्र नभई पोखरामा पनि विगतको तुलनामा आन्तरिक पर्यटक कम रहेको बताउनुभयो ।
वर्षाका कारण पुनः सडक अवरुद्ध हुन सक्ने आशङ्का तथा भोटेकोशी र बूढीगण्डकीको बाढीबाट भएको जनधनको क्षतिले नेपालीको दसैँ उत्साह प्रभावित भएको उहाँको भनाइ छ । यद्यपि, बाढीपछि स्थगित भएका बुकिङ पुनः हुन थालेका र नयाँ बुकिङसमेत आउन थालेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्ने उहाँले अपेक्षा गर्नुभयो ।
होटल व्यवसायी सुमन घिमिरेले शुक्रबारदेखि आइतबारसम्म सौराहामा आन्तरिक पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । दसैँ बिदाका कारण आगामी दिनमा होटलहरू भरिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । विगतका वर्षमा जस्तो चहलपहल अझै नदेखिए पनि पर्यटकको आगमन बढ्दै जाने र त्यसको प्रभाव आगामी वैशाखसम्म रहने उहाँको भनाइ छ ।
होटल भिष्टाका सञ्चालक रमेश सिलवाल पनि दसैँसँगै आन्तरिक पर्यटक बढ्नेमा आशावादी हुनुहुन्छ । उहाँका अनुसार विदेशी पर्यटकको आगमनसँगै भारतीयलगायत अन्य देशका पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेका छन् । व्यवसायीले आगामी दिनमा विदेशी पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरेका छन् ।
वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दसैँको समयमा उहाँको होटल लगातार तीन दिन विदेशी पर्यटकले भरिएको थियो । जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएका उहाँले बताउनुभयो । स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको उहाँको भनाइ छ । भोटेकोशी बाढीका कारण रोकिएका पर्यटक पुनः आउन थालेको र नेपाल आएका विदेशी पर्यटक विगतमा झैँ सौराहा पुग्न थालेको उहाँले बताउनुभयो ।
बाढीका कारण यसअघि बुकिङ रद्द हुँदा होटल व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो । अहिले विदेशी पर्यटकको आगमन सुधार हुँदै गए पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न व्यवसायीले अझै प्रतीक्षा गरिरहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा रहेको सौराहा वन्यजन्तु अवलोकन र सफारी पर्यटनका लागि प्रसिद्ध छ । निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक सौराहासहित भरतपुरका पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा बस्ने गर्छन् । यहाँबाट हात्ती, जिप, डुङ्गा तथा पैदल यात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्न सकिन्छ । एकसिङ्गे गैँडा, पाटेबाघजस्ता दुर्लभ वन्यजन्तुको अवलोकनसँगै थारू संस्कृतिको अनुभव लिन पनि पर्यटक चितवन आउने गर्छन् ।
देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनलाई सफारी पर्यटनका लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ । दसैँमा आन्तरिक पर्यटकको आगमन अपेक्षाअनुसार नभए पनि विदेशी पर्यटकको उपस्थिति र नयाँ बुकिङले पर्यटन व्यवसायीमा आगामी दिनप्रति आशा जगाएको छ ।








