चितवन । खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा डिसइन्फेक्सन (कीटनाशक औषधि) छर्किएको छ। कुमरोज मध्यवर्ती सामुदायिक वन, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ ले संयुक्त रुपमा कीटनासक औषधि वडा भरी छर्किन सुरु गरेको हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई वडाभित्र फैलिन नदिन कीटनाशक औषधि छर्किन सुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताउनु भयो । बोलेरोमा एक हजार लिटरका २ वटा ट्याङकी राखेर वडाभित्र कीटनासक औषधि छर्किएको वडा नम्बर १३ का वडाध्यक्ष बालकुमार उप्रेतीले बताउनु भयो ।
यसैबीच, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ का २१ सय घरधुरीलाई साबुन र मास्क वितरण गरिएको छ। टोल सुधार समिति वडा सदस्य र वनका पार्षद सदस्दमार्फत् प्रत्येक घरमा गएर हात धुने साबुन र मास्क बाँडिएको हो। प्रति घर ५ वटाका दरले साबुन र प्रतिघरका सम्पूर्णलाई मास्क वितरण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानोकाजी कुँवरले बताएका छन् ।
दैनिक ज्याला मजदूरी गरेर जिवन धान्नेहरुलाई खानाको व्यवस्था वडाले नै गर्ने र कोही त्यस्तो भए सम्पर्क गर्न खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य जिवन कार्कीले आग्रह गरेका छन् ।








