चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.२० स्थित न्ये ज्याम्बोलिङ गुम्बामा मंगोल जागरण अभियान तथा आम भेला सम्पन्न भएको छ । मंगोल नेसनल अर्गनाइजेसनको भरतपुर महानगर समितिको आयोजनामा ‘मंगोल जागरण अभियान तथा आम भेला’ सम्पन्न गरिएको हो ।
मंगोल नेसनल अर्गनाइजेसन र यसले गर्दै आएको गतिविधिका विषयमा आम नागरिकलाई जानकारी गराउनुका साथै कार्यकर्ता तहमा प्रशिक्षण दिलाउने योजनासहित एक दिने आम भेला आयोजना गरिएको मंगोल नेसनल अर्गनाइजेसन भरतपुर महानगर सभाका अध्यक्ष भक्तबहादुर तामाङले जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि सन्तोष तामाङले देशमा जनताप्रति चिन्ता र चासो देखाउने दल र नेता नहुँदा देश दिनानुदिन बर्बादीको चङ्गुलमा फस्दै गएको आरोप लगाए ।
‘देशको स्थिति झन् झन् समस्याग्रस्त अवस्थामा आइपुगेको छ,’ भेलाका प्रमुख अतिथिसमेत रहेका मंगोलका नेता तामाङले भने, ‘अब योभन्दा बढी बर्बादीतिर जान नदिनको लागि पनि हामी सम्पूर्ण मूलवासी मंगोल जागरुक हुन जरुरी छ ।’
हरेक निर्वाचनमा नेताहरुको चाप्लुसीमा फस्दै जाँदा देश विकासले गति लिन नसकेको उनको भनाइ छ । ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई हे¥यौं । हुँदाहुँदा नयाँ दलको पनि अवस्था देख्यौँ । तर, तिनीहरुबाट सर्वहारा जनताको अवस्था कहिल्यै सुध्रिने अवस्था देखिँदैन,’ उनले भने, ‘त्यसकारण देशमा बसोबास गर्ने सबै मूलवासीको आवाज लिएर मंगोल आएको हो ।’
केन्द्रीय प्रवक्ता रिन्छेन तामाङले नेपालमा राज्य सत्ता सञ्चालन गर्ने दलहरुबाट देश र जनताको विकास हुन नसक्दा मंगोलको जन्म भएको बताएका थिए । देशमा ठूला भनिएका दलहरुबाट जनस्तरमा चित्तबुझ्दो गरी काम गर्न नसकेकै कारण डा गोपाल गुरूङको नेतृत्वमा मंगोल अर्गनाइजेसनको स्थापना भएको उनले दाबी गरे । नेपालमा धर्मको आस्था र जाति विशेष तरिकाले राजनीति गराइदिँदा मंगोलको पहुँच सरकारमा नपुगेसम्म नेपालीको साझा समस्या समाधान हुन नसक्ने उनले बताए ।
सोही अवसरमा महानगरभित्र रहेका विभिन्न स्थानका मंगोल जातिका तीन सय बढीले पार्टी प्रवेश गरेका छन् । प्रमुख अतिथि तामाङले उनीहरुलाई खादा र अविर लगाई स्वागत गरेका थिए ।
रामपुरबाट मोटरसाइकल ¥यालीसमेत गरिएको कार्यक्रममा चितवन जिल्लाका नेता तथा कार्यकर्तासँगै विभिन्न जिल्लाका पार्टी प्रतिनिधिहरुको पनि उपस्थिति थियो । मंगोलका नेताहरुले भरतपुर महानगरपालिकामा आयोजित भेलाले मंगोलको आगामी यात्रामा समेत ठूलो टेवा पुग्ने बताएका छन् । चितवन जिल्ला हरेक हिसाबबाट विशेष भएको हुँदा चितवनमै गरिएको भेलाबाट पनि पार्टी पंक्तिमा विशेष भूमिका हुने पार्टीका चितवन जिल्ला सचिव सुरेश तामाङले बताए ।








