काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल विस्तार गरेका छन् । उनले केहि मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने तीन नयाँ अनुहारलाई मन्त्रीको जिम्मेवारी थमाएका छन् । सचिवालय सदस्य ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षाको जिम्मा ओलीले आफु मातहत नै तानेका छन् । पार्टी महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि प्रधानमन्त्री ओली मातहतमा रहेको यस मन्त्रालय पौडेललाई दिइएको हो । कृष्णगोपाल श्रेष्ठलाई सहरी विकासको जिम्मेवारी दिइएको छ । उनी काठमाडौं क्षेत्र नंम्बर ९ बाट निर्वाचित भएका हुन् । यस्तै, लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकको मन्त्री बनेका छन् । यसअघि यस मन्त्रालयको जिम्मेवारी सम्हालेका पार्वत गुरुङलाई हटाएर श्रेष्ठलाई ल्याइएको हो । उनी सिरहा क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन् । आज थपिएका तिनै जना मन्त्री प्रधानमन्त्री ओली निकट हुन् ।








