सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री खड्काले कोरोना महामारीले सिंगो देश आक्रान्त भएको बेला सरकार कुम्भकर्णको जस्तो निन्द्रामा रहेको आरोप लगाएका छन् । खड्काले कोरोना महामारी नियन्त्रण तथा राहत प्याकेजमा लाग्नु पर्नेमा अहिले सरकार कुम्भकर्ण निन्द्रामा रहेर आन्तरिक धन्दा चलाएको आरोप लगाएका हुन् । सरकारले कोरोना महामारीकाे बेला जनतालाई राहत प्याकेज ल्याउनुपर्नेमा त्यसमा नलागेको आरोप लगाउँदै खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोभिड संक्रमणको महामारीले सिंगो देश आक्रान्त छ । सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा ब्यस्त छ ! न जनताको चिन्ता छ, न त देशको नै ?’ उनले भने, ‘सत्ताधारी पार्टी सात महिनादेखि सत्ताको आन्तरिक छिनाझम्टी र लुछाचुँडीमा ब्यस्त छ ।’ कोरोना महामारी विपत्तिका बेला जनतामा सरकार रहेको अनुभूति दिलाउन आवश्यक रहेको भन्दै ‘यो विपत्तिको कहरमा जनताका लागि खोइ प्रधानमन्त्री ? खोइ सरकार ? खोइ राहत प्याकेज ? न जिम्मेवारीबोध छ ?’ जस्ता प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘न जनतालाई कुनै भरोसाको सन्देश छ । यो अकर्मण्यता, यो मौनता दुर्भाग्यपूर्ण छ ।’








