काठमाडाैँ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनगढी–१० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय राम गोपाल राना रहेका छन् । उनीहरुले नेपालबाट भारत केराउ तस्करी गर्ने क्रममा अवरोध पुर्याएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । शनिबार राति बा ५८प ५२८४ नम्बरको मोटरसाइकल गस्तीमा हिँडेका असई विक र साउँदको हत्या गरि उनीहरुले मोहना नदीमा फालेका थिए । बेपत्ता भएका साउँदको शव आज भेटिएको हो भने असई गोविन्द विकको शव आइतबार मोहना नदीको किनारामा भेटिएको थियो ।








