काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । आज मध्यान्ह राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । विनाशकारी गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएपछि बुधबार उद्घाटन भएको हो । उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पुनर्निर्माण सकिएकोमा खुसी लागेको बताइन् । उनले प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेकोमा प्रशंसा गरिन् । यसबाट काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुने उनको भनाई छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरुको उपस्थिति रहेको थियो। तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएकाे हाे । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् । भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पु-याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।








