बाग्लुङ । बाग्लुङ जिल्लामा कोभिड-१९ का दुई जना संक्रमित फेला परेका छन्। बेल्जियमबाट एउटै फ्लाइटमा आएका उनीहरुमा संक्रमण पुष्टि भयो। उनीहरुलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा आइसोलेसनमा राखिएको छ।
तर, यही अस्पतालमा दक्ष जनशक्ति भने छैनन्। प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रोपटक पठाएको भेण्टिलेटर बिहीबार साँझ धवलागिरि अञ्चल अस्पताल बागलुङमा आइपुगेको छ । अघिल्लो साता पठाइएको भेण्टिलेटर अस्पतालले सामान अपुरो रहेको भन्दै बुझ्न अस्वीकार गरेको थियो ।
पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न नमानेपछि निर्देशनालयले दोस्रोपटक भेण्टिलेटर पठाएको हो । यसअघिको भेण्टिलेटर अस्पतालले अलग्गै राखेको छ । “स्वाशप्रस्वाशमा समस्या आए भेन्टिलेटरले सहयोग गर्छ, जुन हामीले पाएका छौँ”, अस्पतालका डा प्रदीप श्रेष्ठले भने, “आइसीयू नभएकाले मुटु र मिर्गौलामा समस्या आए कसरी समाधान गर्नु ।”
कोरोनाका बिरामीको उपचार गरिरहेको अस्पताललाई भेण्टिलेटर आवश्यक थियो । आपतकालीन अवस्थामा बिरामीलाई सघाउन मेसिनले सहयोग गर्ने श्रेष्ठले बताए । अस्पतालमा अहिले कोरोना सङ्क्रमण पुष्टि भएका दुई बिरामीको उपचार भइरहेको छ । यदि उनीहरुमा गम्भीरखालको सङ्केत देखापरे सघन उपचारकक्षको आवश्यकता हुने डा श्रेष्ठले बताउँछन् । ‘तर, अस्पतालमा आइसियु छैन,’ उनले भने ।
अस्पतालमा सघन उपचारकक्ष (आइसीयू) सञ्चालनका लागि पहल भइरहेको छ । “केन्द्र सरकारले रु एक करोड बजेट पठाएको छ भन्ने सुनेको छु, त्यो प्रदेशबाट यता आएको छैन”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले भने, “हामी हाम्रो क्षमताले भेट्ने पूर्वाधारको तयारीमा लागेका छौँ, सरकारले सहयोग गरे भेण्टिलेटर मात्रै होइन आइसीयू चलाउँछौँ ।” तत्काल आइसीयू सञ्चालनका लागि अस्पतालसँग जनशक्तिको भने अभाव छ ।“‘आइसीयू प्रयोगमा ल्याउन तालिमप्राप्त नर्सको आवश्यकता हुन्छ”, डा श्रेष्ठले भने, “हामीसँग त्यो खालको जनशक्ति छैन ।”








