काठमाडौं । चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाइएको थियो । साथै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता श्री जीवनबहादुर शाहीको सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गरेको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा पनि दिइएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ ।’








