चितवन । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो ।
महानगरले यस अविधमा आफ्ना बालबालिकाहरुलाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी–पोखरीहरुमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरुम अनुरोध समेत गरेको छ । केहीदिन देखि अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुँदै गइरहेको छ भने बालबालिकाहरुलाई समेत पठनपाठनमा समस्या भइरहेको गुनासो आएपछि यो निर्णय गरिएको आचार्यले बताउनुभयो ।
महानगरको वार्षिक शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार प्रतिकुल मौषमको अवस्था हेरी ४ दिन बिदा दिन सकिने व्यवस्था अनुसार सोही बिदामा समायोजन गर्ने गरी बिदा दिईएको आचार्यले बताउनुभयो । चितवनमा आजको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।









