काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि बढेको छ । असार २५ गतेको उक्त निर्णयविरुद्ध सुवेदीले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन् ।
उनकै नेतृत्वमा राजावादी समूहले आन्दोलन गर्दै आए पनि लिङ्देनले एकाएक सुवेदीलाई हटाएको भन्दै असन्तुष्टि बढेको हो । लिङ्देनको यस कार्यले राजावादी आन्दोलनमा लिङ्देनको इमानदारितामाथि नै प्रश्न उठेको राप्रपा इतर समूहको भनाइ छ । राप्रपाको इतर समूहको शनिबार भएको भेलाले अध्यक्षले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार बिहान साढे ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय भएको एक नेताले जानकारी दिए ।
लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारी दिएको विज्ञप्तिमार्फत जनाएका थिए । यस्तै लिङ्देनले प्रवक्ता सगुन लावतीलाई पनि हटाएका थिए । शनिबारको बैठकमा लिङ्देनले आफ्नो आलोचकलाई धमाधम पदबाट विधान विपरीत हटाएको भन्दै सहभागीले कडा आलोचना गरेका थिए । विगतमा लिङ्देनले इतर समूहका धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए ।








