काठमाण्डौ । देशका विभिन्न ठाउंमा गणतन्त्र विरुद्ध प्रर्दशन गरिरहेका राजावादीहरुले आफ्नो आन्दोलनमा साथ खुलेर दिनको लागि पूर्व राजा ज्ञानेन्द्रसंग अनुरोध गर्ने तयारी भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेका पूर्वमन्त्री केशरवहादुर विष्ट, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमसेर राणा, शाही शक्ति नेपाल का अध्यक्ष मुनिन्द्रराज भण्डारी सहितका व्यक्तिहरुसंग पूर्व राजाले केही दिनभित्रै वृहतरुपमा छलफल गर्न लागेको बताइएको छ । स्रोतका अनुसार विष्ट र राणाले दशैं अगाडि पनि पूर्व राजासंग छलफल गरेका थिए । पूर्व राजाले खुलेर गणतन्त्रको विरुद्ध नबोले पनि आन्दोलन अगाडि बढाउन सहमती दिएको बताइएको छ । ‘तर, अब यसरी हुंदैन । आन्दोलन चर्काउन पूर्व राजाले खुलेर साथ दिनु पर्छ । पूर्व राजा सडकमै निस्किने हो भने आन्दोलनको माहौल नै फरक हुन्छ । त्यसैले हामीले पूर्वराजासंगै निर्णायक छलफल गर्न लागेका हौं’ एकजना राजावादीले भने । उनका अनुसार यदि गणतन्त्र ढल्यो र राजतन्त्र स्थापित भयो भने सबैभन्दा बढी फाइदा पूर्व राजा र उनका परिवारले नै पाउने हुन् । त्यसैले सांच्चै गणतन्त्र विरुद्ध आन्दोलन सफल पार्ने हो भने उनले खुलेरै आर्थिक लगायतका सहयोग गर्नु पर्छ । भोको पेटमा र केही व्यक्तिले सहयोग गरेको भरमा आन्दोलन सफल हुने अवस्था छैन । गणतन्त्र विरुद्ध निरन्तर आवाज उठाएकाहरु अहिलेसम्म आफ्नै खर्चमा सडकमा आए पनि अब भने संभव नभएको उनको भनाइ छ । उनका अनुसार पूर्व राजासंग आन्दोलन सफल पार्नको लागि आर्थिक सहयोगको साथै सबै राजावादीहरुलाई एक ठाउंमा ल्याउनको लागि समन्वयकारी भूमिका खेलिदिन पनि आग्रह गरिने भएको छ । ‘सडकमा हामी कराई रहेका छौं । तर, ७ दशक उमेर पार गरेका ज्ञानेन्द्रमा खासै उत्साह छैन, राजतन्त्र पुर्नवहाली भए पनि धेरै समय राज गर्दिन भन्ने भावना रहेको देखिन्छ । छोरा पारसको व्यवहार भनि नसक्नु छ, उनी राजा भएर देश चल्छ भन्ने विश्वांस छैन, ह्रदयन्द्र झन् केटाकेटी भए । त्यसैले अबको हाम्रो आशा हिमानी हो । पूर्व राजाले अनुमति दिएमा हिमानीको नेतृत्वमा आन्दोलन चर्काएर राजतन्त्र पूर्नवहाली गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ’ नाम उल्लेख गर्न ठीक नहुने भन्दै ती राजावादीले जनतापाटीसंग भने ।








