चितवन । चितवनमा पहिलो पटक प्रतिस्पर्धात्मक मूल्याङ्कनसहित आयोजना गरिएको राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगरस्थित कामना कृषि तथा पशुपक्षी फर्मका अर्जुन ढकालको गाई सर्वोत्कृष्ट घोषित भएको छ। भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी अन्तरराष्ट्रिय डेरी प्रदर्शनी–२०८२ अन्तर्गत बुधबार सम्पन्न प्रतियोगितामा उक्त गाईले ४०० पूर्णाङ्कमध्ये ३६२.५ अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो।
दूध उत्पादनमा अग्रणी मानिने चितवनमा यस प्रकारको व्यवस्थित र वैज्ञानिक मूल्याङ्कनसहितको गाई प्रदर्शनी पहिलोपटक आयोजना गरिएको आयोजकले जनाएका छन्। प्रतियोगितामा विभिन्न नश्लका १७ वटा फर्मका गाई सहभागी थिए। पशु विज्ञहरूको चार सदस्यीय निर्णायक समूहले स्वास्थ्य अवस्था, जातअनुसारको शारीरिक बनावट, हिँडाइ, दूधालुपन, प्रजननयोग्यता तथा सम्भावित रोगप्रतिरोधात्मक क्षमता जस्ता आधारमा मूल्याङ्कन गरेका थिए।
प्रतियोगितामा शिवानी कृषि तथा पशुपक्षी फर्मका सञ्चालक शिवप्रसाद पौडेलको गाई ३५३.५ अङ्कसहित द्वितीय स्थानमा रह्यो भने कालिका पशु विकास केन्द्रका चेतप्रसाद ढकालको गाई ३५२.५ अङ्कसहित तृतीय भयो। नोभा कृषि फर्मका सञ्चालक पदम तिवारीको गाई सान्त्वना स्थानमा परेको छ। अन्य प्रतिस्पर्धी गाईहरूको अङ्क पनि निकै नजिक रहेको निर्णायक मण्डल संयोजक डा. गोकर्ण गौतमले जानकारी दिए।
प्रतियोगिताका प्रमुख निर्णायक कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका एसोसिएट प्रोफेसर डा. गौतम थिए। त्यसैगरी गाई अनुसन्धान कार्यक्रम, रामपुरका विज्ञ डा. उद्धव पनेरु, किसान आयोगका वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्र सापकोटा तथा अमेरिकी पशु विज्ञ डेनियल ली लेनी निर्णायक सदस्यका रूपमा सहभागी थिए।
डा. गौतमका अनुसार गाईको शारीरिक संरचना, थुनेलो लाग्ने सम्भावना, सजिलै ब्याउने क्षमता तथा उत्पादनशीलता जस्ता प्राविधिक पक्षलाई विशेष ध्यान दिइएको थियो। प्रदर्शनीमा ल्याइएका सबै गाई गुणस्तरीय रहेको उनले बताए।
आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले गाई प्रतियोगिता नेपालमा नयाँ अभ्यास भएको उल्लेख गर्दै यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित चितवन उद्योग सङ्घ र सहकारी सङ्घको संयुक्त आयोजनामा सञ्चालित अन्तरराष्ट्रिय डेरी एक्स्पो–२०८२ आज समापन हुँदैछ।








