काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई आफ्नो को–स्पोन्सरका रूपमा निरन्तरता दिएको घोषणा गरेको छ।
चितवन राइनोज र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीचको सहकार्यलाई निरन्तरता दिइनुले दुवै संस्थाबीचको बलियो सम्बन्ध, आपसी विश्वास र नेपाली क्रिकेटको विकासप्रतिको साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। नेपाली क्रिकेटमा पछिल्लो समय बढ्दै गएको व्यावसायिक गतिविधि र निजी क्षेत्रको सहभागिताबीच यस किसिमको साझेदारीले खेलाडी, टोली तथा समग्र क्रिकेट क्षेत्रलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।
साझेदारीलाई औपचारिकता दिन चितवन राइनोजका क्लब अध्यक्ष आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै एनपीएल सिजन ३ मा चितवन राइनोज र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीचको सहकार्यले निरन्तरता पाएको हो। दुवै संस्थाले नेपाली क्रिकेटको प्रवद्र्धन, विकास र व्यावसायिक विस्तारमा सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
चितवन राइनोजले निरन्तर विश्वास, साथ र समर्थन प्रदान गरेकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सप्रति आभार व्यक्त गरेको छ। क्लबले एनपीएल सिजन ३ मा पनि विगतको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नयाँ उपलब्धि हासिल गर्ने अपेक्षा गरेको जनाएको छ।
एनपीएल सिजन ३ नजिकिँदै गर्दा चितवन राइनोजले टोलीको तयारीसँगै साझेदारी र संस्थागत सहकार्यलाई समेत प्राथमिकता दिएको छ।








