चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द रहेको जिप सफारी पुनः सञ्चालनमा आएको छ। बर्सातका कारण गत असार १७ गतेदेखि बन्द गरिएको जिप सफारी यही असोज २३ गतेदेखि पुनः सुरु गरिएको हो।
वर्षायाममा परेको अविरल वर्षा तथा बाढीका कारण निकुञ्जभित्रका सडकहरू क्षतिग्रस्त भएपछि जिप सफारी बन्द गरिएको थियो। सडक मर्मत, ढलेका रूख हटाउने तथा झाडी सफा गर्ने काम सम्पन्न भएपछि सफारी सञ्चालनमा ल्याइएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार वर्षाका कारण बिग्रिएका सडक तथा सफारी मार्ग मर्मत गरिएपछि पर्यटकका लागि जिप सफारी खुला गरिएको हो। उहाँका अनुसार असोजको दोस्रो साता आएको बाढीले जंगल सफारीका विभिन्न मार्गमा क्षति पुर्याएकाले सफारी सञ्चालनमा ल्याउन केही समय लागेको थियो।
निकुञ्जभित्र जिप सफारी बन्द रहेको अवधिमा पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप र हात्ती सफारी नियमित रूपमा सञ्चालन हुँदै आएका थिए। ती क्षेत्रमा पर्यटकले वन्यजन्तु अवलोकन तथा जंगल भ्रमण गर्न पाउने व्यवस्था यथावत् रहेको थियो।
चितवन राष्ट्रिय निकुञ्जभित्र विभिन्न प्रवेश नाकाबाट जिप सफारी सञ्चालन हुने गरेको छ। निकुञ्जका अनुसार सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिप निकुञ्जभित्र सञ्चालनमा छन्। ती जिपमार्फत पर्यटकले निकुञ्जका विभिन्न क्षेत्रमा पुगेर वन्यजन्तु अवलोकन गर्ने गर्छन्।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तुका लागि प्रसिद्ध छ। वन्यजन्तु अवलोकन र प्राकृतिक सौन्दर्यको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन्। जिप सफारी पुनः सञ्चालनमा आएसँगै निकुञ्ज भ्रमणमा आउने पर्यटकलाई सहज हुने तथा पर्यटन गतिविधि थप चलायमान बन्ने अपेक्षा गरिएको छ।








