चितवन । निजी विद्यालयहरूले गरेको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन भरतपुर महानगरपालिकाभित्र क्रियाशील राष्ट्रिय राजनीतिक दलहरू एकजुट भएका छन्। शुल्क वृद्धिको विषयलाई लिएर आयोजित सर्वदलीय बैठकले अभिभावक तथा विद्यार्थीमाथि थप आर्थिक भार पर्ने गरी गरिएको शुल्क वृद्धि फिर्ता गराउन दबाब दिने सर्वसम्मत निर्णय गरेको हो।
नेपाली कांग्रेस भरतपुर महानगर कार्यसमितिका सभापति बुद्धिकान्त न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकले निजी विद्यालयहरूले बढाएको शुल्क फिर्ता गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आवश्यक दबाब सिर्जना गर्ने निर्णय गरेको छ।
बैठकपछि सभापति न्यौपानेले निजी विद्यालयको शुल्क वृद्धिका कारण अभिभावक तथा विद्यार्थीमा आर्थिक भार थपिने विषयलाई गम्भीर रूपमा लिइएको जानकारी दिनुभयो। उहाँका अनुसार शुल्क वृद्धि फिर्ता गराउन सम्बन्धित निकायलाई आग्रह गर्नुका साथै निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गरिनेछ।
निजी विद्यालयको शुल्क वृद्धिप्रति अभिभावक तथा अन्य सरोकारवालाले चासो व्यक्त गरिरहेका बेला राजनीतिक दलहरूले सामूहिक रूपमा आवाज उठाउने निष्कर्ष निकालेका हुन्। बैठकले शुल्क वृद्धिको निर्णय पुनर्विचार गरी फिर्ता गराउन दबाब दिने र यस विषयमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
बैठकमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका भरतपुर महानगरस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर सभापति सीता ज्ञवाली, नेकपा एमाले भरतपुर महानगर अध्यक्ष शंकर थपलिया, नेपाली कम्युनिस्ट पार्टी भरतपुरका संयोजक ईश्वर सापकोटा ‘सुमन’, राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुरका वरिष्ठ उपाध्यक्ष शिवशंकर उप्रेती तथा श्रम संस्कृति पार्टी भरतपुर महानगर अध्यक्ष प्रकाश कँडेल सहभागी हुनुहुन्थ्यो।
निजी विद्यालयको शुल्क वृद्धि फिर्ता गराउने विषयमा विभिन्न राजनीतिक दलबीच साझा धारणा बनेसँगै अब सम्बन्धित निकायमाथि निर्णय कार्यान्वयनका लागि दबाब बढ्ने अपेक्षा गरिएको छ।








