चितवन। बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई चितवन प्रहरीले काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ४७ वर्षीय मोहम्मद नसीम रहेका छन्। उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा एक करोड २० लाख रुपैयाँ बिगो रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा फरार रहेका नसीमलाई जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रहरी टोलीले २०८३ कात्तिक ११ गते काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले २०८३ कात्तिक १४ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिएको हो।








