चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभिन्न विशेषज्ञ चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी करार सेवामा पदपूर्ति गर्न माग गरेको छ । अस्पतालले एक सूचना प्रकाशित गर्दै नवौँ तहका विशेषज्ञ चिकित्सक र पाँचौँ तहका एनेस्थेसिया टेक्निसियन पदमा दरखास्त आह्वान गरेको हो । अस्पतालले रेडियो डायग्नोसिस एन्ड इमेजिङतर्फ दुई जना, प्याथोलोजीतर्फ एक जना, पेडियाट्रिक अंकोलोजीतर्फ एक जना, गाइनो अंकोलोजीतर्फ एक जना र एनेस्थेसियोलोजीतर्फ दुई जना विशेषज्ञ चिकित्सक माग गरेको छ । यस्तै, पाँचौँ तहको एनेस्थेसिया टेक्निसियन पदमा एक जना माग गरिएको छ ।
नवौँ तहका चिकित्सक पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर (एमडी÷एमएस) उपाधि हासिल गरेको हुनुपर्नेछ । एनेस्थेसिया टेक्निसियन पदका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । दरखास्त फाराम अस्पतालको वेबसाइट धधध।दउफअज।यचन।लउ बाट डाउनलोड गरी ए–४ साइजको कागजमा प्रिन्ट गरेर आवश्यक कागजातसहित अस्पतालको कार्यालयमा बुझाउनुपर्नेछ । दरखास्त दिने अन्तिम मिति सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात् आगामी मंसिर ९ गतेसम्म तोकिएको छ । दरखास्त दस्तुर पाँचौँ तहका लागि चार सय रुपैयाँ र नवौँ तहका लागि एक हजार दुई सय रुपैयाँ तोकिएको छ ।
उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । सहायक पदका लागि भने १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । परीक्षा लिखित र अन्तर्वार्तामार्फत हुनेछ । अस्पतालले मंसिर ११ गते बिहान १० बजेदेखि अस्पतालको नर्सिङ कलेज भवनमा परीक्षा सञ्चालन गर्ने जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्यद्वारा जारी सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई तोकिएको समयभित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।









