काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक तथा अरेबीयन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। हाल प्रदेश २ र बागमती प्रदेशका भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै पूर्वी र पश्चिमी तराईका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशको पहाडी भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








