काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो नहुने निष्कर्ष निकालेको छ । देशको विभिन्न क्षेत्रम कोरोनाको संक्रमण थप देखिएको भन्दै समितिले कोरोना संक्रमणबाट बच्नको लागि लकडाउनलाई तत्कालै खुकुलो बनाउने अवस्था नआएको निष्कर्ष निकालेको हो । सिंहदरबारमा सकिएको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको समितिका एक सदस्यले बताए। वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ।
यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ। केही जिल्लामा खासगरी हिमाली क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सल्लाह गरी ती जिल्लाका लागिमात्रै केही निर्णय गर्न सकिन्छ कि भन्ने पनि कुरा भएको छ, उनले भने। शुक्रबारको मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए।
समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ। समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ। यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउनेछ।








