कपलिवस्तु । कपिलवस्तुमा प्रहरीले ठुलो परिमाणमा बन्दुक र बारुद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार आज ४ बजे कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौला बस्ने बर्ष अं.३२ को अस्लम मुसलमानको घरबाट १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा रहेको फुसले छाएको कच्ची बाख्रा गोठमा हातहरियार लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक सहित विस्फोटक पदार्थ बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट गएको संयुक्त टोलीले बरमाद गर्न सफल भएको हो । संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा १२ बोर बन्दुक २ थान,सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं.३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको थियो ।
ती हतियार र विस्फोटक पदार्थ राख्ने अस्लम मुसलमानको खोत तलास भईरहेको प्रहरीले जनाएको छ ।








