चितवन । कालिका नगरपालिकाले नदीजन्य पदार्थ चोरी निकासीमा प्रयोग हुने सवारी साधनलाई एक लाख रुपैया सम्म जरिवान तोकेको छ । नगर भित्रका नदीहरुबाट अबैध उत्खनन् तथा चोरी निकासी बढ्दै गएपछि सो नगरपालिकाले नियन्त्रणको लागि कडाई गरेको हो । अबैध चोरी निकासीमा प्रयोग हुने ट्याक्टरलाई १० हजार सम्म जरिवाना गर्दै आएको सो नगरपालिकाले ढुंगा,बालुवा,गिट्टी,ग्रावेल लोड गर्न प्रयोग हुने सवारी साधनलाई समेत जरिवाना तोकेको छ ।
नदीजन्य पदार्थ लोड गर्न प्रयोग हुने साधनलाई एक लाख रुपैया जरिवाना तोकिएको प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले जानकारी दिए । अबैध नदीजन्य पदार्थ ओसार पोसारमा प्रयोग भएको ट्याक्टलाई पहिलो पटक २५ हजार,सोही ट्याक्टर दोस्रो पटक प्रयोग भएको पाइए ५० हजार,टिपरलाई पहिलो पटक ३० हजार र दोस्रो पटक ६० हजार रुपैया जरिवाना तोकिएको रेग्मीले जानकारी दिए । सो नगरपालिका भएर बग्ने कयर,थाङ्बुङ,शक्ति खोला लगायत अन्य खहरे खोलाबाट नदीजन्य पदार्थको अबैध उत्खनन् हुँदै आएको छ ।
कालिकामा दिनदहाडै नदीजन्य पदार्थको चारी तस्करी हुँदै आएको छ । नगर भित्रका खोलाहरुबाट दैनिक १०० भन्दा बढी टिप ढुंगा,बालुवा,गिट्टी,ग्रावेल चोरी हुँदै आएको छ । इलाका प्रहरी कार्यालय टाँडी र नगरपालिकाको सयुक्त प्रयासबाट चोरी तस्करीमा प्रयोग हुने ट्याक्टर,टिपरहरु नियन्त्रणमा लिएर जरीवाना तिराउने गरिएको छ ।
१० हजार जरिवाना कम भएका कारण एउटै ट्याक्टर पटक पटक नियन्त्रणमा लिइने गरिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी इन्द्रबहादुर रानाले नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणको लागि नदीहरुमा दैनिक रुपमा गस्ती र अनुगमन गरिएको बताए ।








