काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा छलफल गर्न आज पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ । गत माघमै महाधिवेशन गरिसक्नु पर्ने काँग्रेसले विधानले दिएको सुविधा प्रयोग गरेर एक वर्ष केन्द्रीय समितिको आयु बढाउने निर्णय गरेको थियो ।
देउवा आयु लम्ब्याएर आफैं पून सभापति बन्ने ध्याउन्नमा लागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेताहरु भने अब देउवाबाट काँग्रेस नचल्ने भन्दै उनलाई पार्टी नेतृत्वबाट विस्थापित गराउने योजनामा लागेका छन् । तर काँग्रेसले अबको फागुन ७ गतेबाट महाधिवेशन गर्ने भने पनि त्यसको पूर्वसन्ध्यामा गर्नुपर्ने तयारीमा फेरि ब्रेक लाग्न पुगेको छ ।
कोभिड १९ लाई कारण देखाउदै सभापति देउवा पक्षका नेताहरुले महाधशिवेशन पूर्वका कार्यक्रम रोकिएको बताईरहेका छन् । तर अन्य पक्षका नेताहरु नियत नै खराब रहेका कारण देउवा पक्षले महाधिवेशन टार्ने बहाना मात्र खोजिरहेको बताईरहेको छ । गत हप्ता देउवा निवासमा नागरिकताका विषयमा छलफल गर्न बोलाईएको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले महाधिवशेनका बारेमा तयारी थाल्नुपर्ने बताएपछि फेरि काँग्रेसमा यो बहस उठेको छ ।








