चितवन । चितवनमा कोरोना भाइरस नियन्त्रणतर्फ उन्मुख छ । जिल्लाभर मंसिरमा कोरोना संक्रमितको संख्या वर्षकै कम पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार मंसिरमा चितवनमा दुई सय ८० जना मात्रै नयाँ संक्रमित थपिएका छन् । जुन यो वर्षकै सबै भन्दा कम हो । यस वर्ष बैशाखमा चार हजार एक सय ७७ जनामा संक्रमण पुष्टि भएको थियो भने जेष्ठमा तीन हजार आठ सय ८१ जना संक्रमित भेटिएका थिए ।
असारमा तीन हजार ४२ जनामा संक्रमण पुष्टि भएको थियो । जेष्ठ र असारमा घटेको संक्रमितको संख्या साउनमा फेरि ह्वात्तै बढेको थियो । साउनमा जिल्लाभर पाँच हजार दुई सय ६२ जनामा कोरोना देखिएको थियो । त्यसयता भने संक्रमितको संख्या निरन्तर घट्दै आएको छ । भदौमा दुई हजार एक सय ११, असोजमा आठ सय ५४, कार्तिकमा पाँच सय २१ र मंसिरमा दुई सय ८० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मंसिरमा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । यो संख्या पनि वर्षकै न्युन हो । यसअघि कोरोनाबाट बैशाखमा ५०, जेष्ठमा ८८, असारमा ५४, साउनमा ६६, भदौमा ३८, असोजमा १७ तथा कार्तिकमा चार जनाको मृत्यु भएको थियो ।
पाँच संक्रमित थपिएम १५ निको भए
चितवनमा पछिल्लो २४ घण्टामा पाँच जना नयाँ संक्रमित थपिएका छन् । दुई सय ५५ पिसिआर र १४ एन्टिजेन परीक्षण गरिएकोमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार एक सय ४५ पुगेको छ । उता पछिल्लो २४ घण्टामा १५ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २६ हजार पाँच सय ९४ पुगेको छ ।
जिल्लाभर एक सय १८ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक सय १७ जना होम आइसोलेसनमा छन् भने एक जना अस्पतालमा छन् । कोरोनाबाट जिल्लाभर अहिलेसम्म चार सय ३३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो कुल संक्रमितको एक दशमलव ६ प्रतिशत हो । संक्रमित मध्ये ९८ प्रतिशत निको भइसकेका छन् भने शुन्य दशलमलव चार प्रतिशतमा अझै कोरोना सक्रिय छ ।








