हेटौंडा । मकवानपुर प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सडकखण्डबाट ८८.६० क्युफिट सालको काठसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने २४ वर्षीय सुशान लोप्चन र १८ वर्षीय सुदिप लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले आज (शनिबार) दिउँसो पक्राउ गरेको हो ।
हाडीखोला तर्फबाट बस्तीपुर चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१– च १२६०नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको उक्त परिणामको काठ बरामद भएपछि निज गाडी चालक सुशान र गाडीमा सवारी सुदिपलाई पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।
उनीहरुलाई उक्त परिणामको काठ, पिकअप गाडीसहित नियन्त्रणमा लिई आवश्याक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाउने पहल भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।








